नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ । गत वर्ष ११ चैतबाट जारी भएको लकडाउन आज रातिबाट खुल्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए ।
लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए । सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरे पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरू, ट्युसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन ब्युटिपार्लर स्वीमिङ पुललगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए ।
यद्यपि, विद्यार्थी भर्ना र परीक्षाफल प्रकाशनको काम १ भदौबाट गर्न सकिने निर्णय भएको उनले बताए । सरकारले १५ साउनबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरू खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उनले बताए ।
१ भदौबाट लामो दूरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरू अपनाउन सरकारले सबैमा आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा ३२ साउनसम्म आवतजावत बन्द गरिएको उनले बताए ।