प्रचण्ड, माधव र झलनाथबीच भयो यस्तो गोप्य सहमति, ओली तनावमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद रोचक मोडमा पुगेको छ । पार्टीभित्रबाट चर्को रूपमा राजीनामाको दवाव परेपछि विभिन्न एजेण्डा प्रस्तुत गर्दै राजीनामा नदिने बताउँदै आएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार अर्ली महाधिवेशनको कार्ड फ्याकेका थिए ।

मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा मौन सहमति जनाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाललगायत उनीनिकट अधिकांश नेताहरूले विरोध जनाएका थिए । प्रचण्डमाथि ओलीसँग गोप्य सहमति गरेकोसमेत आरोप लाग्यो । तर मंगलबारसम्म आउँदा प्रचण्डले ओलीसँग गोप्य सहमति नगरेकोमा विश्वस्थ मात्र तुल्याएनन् उल्टै नेपाल र खनालसँग एक गोप्य सहमति गर्दै महाधिवेशनमा जाने रणनीति नै तयार गरे ।



मंगलबार गोप्य रूपमा प्रचण्ड, नेपाल र खनालबीच महाधिवेशनबाटै ओलीसँग बदला लिने सहमति भएको स्रोतको दाबी छ । उक्त सहमतिमा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि सहमति रहेको बुझिएको छ । उनीहरूबीच सम्भव भए मंसिरमै र सम्भव नभएपनि चैतसम्म महाधिवेशन गरिसक्ने र महाधिवेशनमा आफूहरू एक भएर ओलीलाई अध्यक्षबाट र संसदीय दलको नेताबाट पनि हराएर प्रधानमन्त्रीबाट पनि हटाउने सहमति भएको हो ।

यससँगै प्रचण्ड–नेपाल गठबन्धन महाधिवेशनको तयारीमा जुट्ने भएको छ । प्रचण्डले नेपाल र खनालसँग यस्तो गोप्य सहमति भएको बुझेपछि मंगलबारको भेटमा ओलीले आपत्ति जनाएका थिए । तपाईलाई मिलेर जाउँ, महाधिवेशनमा एकल अध्यक्ष बनाउछु त मैले नै भनेको थिएँ नि । महाधिवेशनको प्रस्ताव मेरै थियो । फेरि उता गएर यो सब रणनीति के को लागि हो ? ओलीको भनाई उध्रित गर्दै वालुवाटार स्रोतले भन्यो । जवाफमा प्रचण्डले ‘तपाईको विश्वासै नहुने भयो’ भन्दै ‘महाधिवेशनमा जाँऊ, बाँकी कुरा हुँदै जान्छन्’ भन्ने जवाफ फर्काएका थिए ।

मंसिरमा महाधिवेशनमा जाने आफ्नै प्रस्तावलाई प्रचण्डले गलत रूपमा प्रयोग गर्न लागेपछि प्रचण्डसँग ओली थप रूष्ट भएका छन् । मंगलबारकोे स्थायी कमिटी बैठकमा जाने तयारीमा रहेका ओली प्रचण्ड नेपालबीचको गोप्य भनिएको सहमतिको चाल पाएपछि बैठकमा नगएको बताइन्छ । ओली उपस्थित नभएपछि मंगलबारको स्थायी कमिटी बैठक केहीबेर बसेर एक साताको लागि स्थगित भएको थियो ।

यता प्रचण्ड, नेपाल र खनालबीच महाधिवेशन लक्षित गोप्य सहमति भएपछि ओली थप रणनीतिमा लागेका छन् । आफैले ल्याएको महाधिवेशनको एजेण्डा पनि ओलीलाई गलापासो हुने देखिएको छ । प्रचण्ड, नेपाल र खनाल मिलेर महाधिवेशनमा गएमा आफू बढारिने बुझेका ओली आफूनिकट नेताहरूसँग थप परामर्शमा जुटेका छन् । उनीहरू महाधिवेशन टार्ने र प्रचण्ड नेपाल गुट भत्काउने रणनीति तयार गर्न व्यस्थ छन् ।

यता महाधिवेशन लक्षित सहमति गरेका प्रचण्ड, नेपाल र खनालबीच भागवण्डाको कार्य भने सकिएको छैन । महाधिवेशनमा प्रचण्डलाई आफ्नो तर्फबाट एकल अध्यक्ष बनाउनेमा नेताहरू सहमत छन् । तर अन्य नेताहरूलाई कसरी सेटल गर्नेभन्नेमा थप तयारी गर्ने र सहमतिमा निर्णय गर्नेमा प्रचण्ड नेपाल र खनाल सहमत भएका छन् । पार्टीभित्र लामो समय ओलीको हेपाई सहेर बसेका नेपाल र खनाल प्रचण्डलाई नै नेता मानेर भएपनि ओलीसँग बदला लिने सोचमा पुगेको बुझ्न सकिन्छ ।

जनताको जनवादलाई नै राजनीतिक विचारधाराको रूपमा मान्नेमा पनि नेता नेपाल र खनाल सहमत भएका छन् । यसअघि ओली र राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई राजनीतिक विचारधाराको रूपमा जनताको बहुदलिय जनबादलाई स्वीकारेमा महाधिवेशनमा एकल अध्यक्षको रूपमा स्वीकार्ने अफर गरेको बताएका थिए ।

सम्बन्धित समाचार