नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।

ट्राफिक प्रहरीले आजदेखि मादक पदार्थ सेवन (मापसे) जाँच पुनः सुरु गर्ने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन लागु भएसँगै मापसे जाँच रोकिएको थियो । तर आजदेखि लकडाउन खुलेसँगै सवारी चाप बढेको र मापसे जाँच पनि सुरु गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
तत्कालका लागि प्राथमिकतामा लेन अनुसाशन रहेको भए पनि शंका लागेका व्यक्तिको मापसे जाँच हुने उनले बताए । तत्कालका लागि ब्रेथलाइजर प्रयोग नगरी मेडिकल जाँच गरिने र त्यसको रकम सम्बन्धित व्यक्तिले नै तिर्नु पर्ने एसएसपी ढकालले जानकारी दिए ।
मापसे गरेको देखिएमा चिट काट्ने र कक्षा लिनका लागि अवस्था सामान्य भएपछि बोलाइने उनले जानकारी दिएका छन् ।

