नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।

निजी विद्यालय सञ्चालकहरूले अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । यसअभि विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा ८ साउनदेखि पुनः सञ्चालन हुने भएको हो । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको छ ।
१ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।
विद्यालय सञ्चालक, शिक्षक र अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायतका क्रियाकलाप थाल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको छ ।

