नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद संगिन मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको काम र कारबाहीमा प्रश्न उठाउँदै विशेष गरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज बुलन्द गरेपछि नेकपामा विवाद चर्किएको थियो । विवाद बढ्दै जाँदा पछिल्लो समय प्रचण्डले पनि राजीनामा दिनुपर्ने आवाजहरू उठ्न थालेका छन् ।
त्यसो त प्रचण्ड समूहमै रहेर ओलीको राजीनामा माग्दै आएका वरिष्ठ नेता झलनाथ खनालले पनि गत आइतवार मात्र ओली र प्रचण्ड दुवैको विकल्प खोज्नुपर्ने बताएका थिए । प्रत्यक्ष रूपमा उनले प्रचण्डको राजीनामा नमागे पनि अप्रत्यक्ष रूपमा दुवै अध्यक्षको विकल्प खोज्नुपर्दछ भनेर प्रचण्डलाई धक्का दिएका थिए ।
पार्टी एकताकै समयमा महाधिवेशनसम्म दुई अध्यक्षको भूमिका बाँडफाँड भएकोले ओलीले राजीनामा दिनुपर्ने र प्रचण्डले राजीनामा दिनु नपर्ने भन्ने नहुने ओली पक्षका नेताको बुझाइ छ । ओली निकट मानिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले पनि प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् । पार्टीको कार्यकारी अध्यक्षको हैसियतले नेकपा विग्रनुमा प्रचण्डको पनि उत्तिकै भूमिका रहने भन्दै उनले प्रचण्डको राजीनामा मागेका हुन् । त्यसो त उनले महाधिवेशनसम्म दुई अध्यक्ष मिलेर जानुपर्ने धारणा राखेका छन् । तर यो वा त्यो बहानामा ओलीको राजीनामा मागिन्छ भने स्वयं प्रचण्डले पनि राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।
नेकपामा पछिल्लो समय उठेको अर्लि महाधिवेशनको प्रस्तावमा शीर्ष नेताहरूबीच एकरूपता नआउँदा उक्त प्रस्ताव पनि अलपत्र परेको छ । गत शनिवार ओलीले अर्लि महाधिवेशनको प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत गरेका थिए । प्रचण्डले उक्त प्रस्तावको समर्थन गरे पनि बाह्र घण्टा नबित्दै उक्त समर्थन फिर्ता लिएका थिए । विशेष गरी पार्टीका वरिष्ठ नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन संभव नभएको बताएपछि उक्त समर्थन फिर्ता लिन बाध्य भएका थिए । त्यसपछि प्रचण्ड र नेपाल समूहबीच महाधिवेशनसम्म कार्यगत एकता गर्ने सहमति भएको थियो । प्रचण्डले नेपालसँग यस्तो सहमति गरेपछि बिच्किएको ओली समूहले प्रचण्डलाई तारो बनाएर विभिन्न प्रकारका आक्रमणमा उत्रिएका छन् ।
प्रचण्ड र नेपाल समूह महाधिवेशन सम्म मिलेमा आफूहरू बढारिने बुझेका ओली समूहले सकेसम्म उक्त गठबन्धन भत्काउने र नसकेमा महाधिवेशन टार्ने रणनीतिमा अगाडि बढेका छन् । पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका ओलीलाई आफैले ल्याएको अर्लि महाधिवेशनको प्रस्ताव यतिबेला गलपासो भएको छ । थाहा छैन उनले यो पासो हटाउनलाई अर्को कस्तो जाल थप्ने हुन् ?