नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।

राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धी प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताए । नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भएपनि गलत तरिकाले बनाइएको उनको भनाई छ ।
पटक–पटक गणतन्त्र स्मारक हटाउनु पर्ने धारणा राख्दै आएका नेता नेपालले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताए । नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पुरानो जग देखिने गरी विकास गर्नुपर्ने धारणा उनको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘गणतन्त्र स्मारक त्यहाँ राख्नु उपयुक्त छैन । त्यसका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ, गणतन्त्र संग्रहालय । जसमा जनताको आन्दोलन र सामाजिक आन्दोलनदेखि लिएर सबै कुरा बेग्लै किसिमको संग्रहालय गणतन्त्र आइसकेपछिको नेपालले बनाउनुपर्छ । नारायणहिटीलाई राजा महाराजले पुरानो इतिहासको सम्पूर्ण झलक देखिने गरी बनाउनुपर्छ । त्यहाँ अरु कुनै कुराहरु गर्नु हुँदैन ।’

