नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।

आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउने भएकाले भोलि रातिदेखि धेरै ठाउँमा पानी परेर बाढी र पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
उनका अनुसार आज देशभरीकै मौसम सामान्य बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ। यस्तै राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको एक-दुई ठाउँमा चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् कँडेलले बताइन् । भोलि रातिदेखि मनसुन सक्रिय भई मंगलबार र बुधबार बाढी, पहिरो र डुबानको जोखिम भएकाले सकेसम्म यात्रा नगर्न, गर्नैपरे उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
यसैबीच प्रिमनसुनको समयदेखि नै पानी परिरहेकाले यो वर्ष पहिरोको जोखिम बढेकाले थप सतर्क हुनुपर्नेमा जोड दिएका छन् । लगातार पानी पर्दा जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएकाले पहिले गएका पहिरो सक्रिय हुनसक्ने र जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि पहिरो खस्न सक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने भू-गर्वविद् शिव बाँस्कोटाले बताए ।

