राजु लामिछाने
काठमाडौं, १२ साउन ।
पार्टीको आन्तरिक विवादमा फसिरहेको बेलामा गत असार १७ गते प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे । भेटमा उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले घेराबन्दीमा पारेर दुबै पदबाट राजीनामा मागेकोले राजीनामा दिनुभन्दा पार्टी फुटाउनु उपयुक्त लागेको भन्दै साथ दिन आग्रह गरे । नेकपा फुटाएर कांग्रेससँग मिलेर सरकार बनाउने ओलीको आग्रहलाई देउवाले सहर्ष स्वीकार गरे । देउवाबाट ढास पाएपछि ओलीले बजेट अधिवेशन अन्त्य गरेर प्रचण्ड र नेपाल समूहप्रति आक्रमक रुपमा प्रस्तुत हुन थाले ।
यता निर्वाचन आयोगमा नेकपा एमाले नामक दल दर्ता गर्न लगाएर भित्रभित्रै पार्टी फुटाएर फेरि पनि प्रधानमन्त्री बनेर देखाइदिने तयारीमा ओली लागे । उनका प्रत्येक कदममा शीतलनिवासले पनि साथ दिँदै गयो । ओली भारतविरुद्ध थप आक्रमक बन्दै गए । भारतकै इशारामा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने योजना बनेको बताउँदै आएका ओलीले भारतको विरोधकै लागि राम नेपालमा जन्मिएको अभिव्यक्ति दिए । ओलीको सो अभिव्यक्तिको नेपालमै चर्को आलोचना भयो । भारतमा नहुने कुरै आएन । पार्टीभित्रको आन्तरिक किचलो र भारतसँग अनावश्यक विवादका कारण ओलीको राजनीतिक छवि थप धमिलो भयो ।
ओली थप विवादमा आएपछि उनलाई साथ दिँदा कांग्रेसको छवि पनि बिग्रने भन्दै कांग्रेसका दोस्रो तहका नेताहरुले देउवालाई ओलीसँग मिलेर सरकार बनाउने प्रस्ताव तत्काल अस्वीकार गर्न दवाव दिए । पछिल्ला फोन वार्तामा देउवाले ओलीलाई तत्काल कांग्रेस सरकारमा जाने वातावरण नभएको बताए । आफ्नै पार्टीभित्र निरन्तर खेदिएका ओली देउवाले साथ दिन नसक्ने बताएपछि थप निराश भएका छन् ।
फुटबाट बच्यो नेकपा
दुबै पदबाट राजीनामा मागेपछि विच्कीएका ओली पार्टी फुटाएर आफू फेरि प्रधानमन्त्री बन्ने र प्रचण्ड नेपाललाई अलपत्र पार्ने तयारीमा थिए । देउवाले साथ दिने भएपछि संसदमा बहुमत पुर्याउन उनलाई ठूलो कसरत गर्नु परेन । देउवाले साथ दिएको विषयलाई उनले प्रचण्ड र नेपाल समूहलाई धम्क्याउन पनि प्रयोग गरे । प्रचण्डसँगको भेटमा अनावश्यक पेलेमा नेकपा फुटाएर भएपनि फेरि प्रधानमन्त्री बन्नेदेखि प्रचण्डसँग भएका २-४ जना संसद किनिहाल्नेजस्ता गैह्रजिम्मेवारी कुरा गर्न पनि पछि परेनन् ।
यता प्रचण्ड नेपाल समूह भने कांग्रेस र ओलीको सम्बन्ध बिगार्न लागिपर्यो । चौतर्फी आलोचनाको शिकार भएका ओलीलाई बोकेर आफ्नो छवि नबिगार्न प्रचण्डले पनि देउवालाई आग्रह गरेको स्रोतको दाबी छ । अन्ततः देउवा ओलीलाई साथ नदिने निष्कर्षमा पुगे । नेकपा फुटाएर पनि प्रधानमन्त्री नबन्ने अवस्था आएपछि ओली तत्काल पार्टी फुटाउने एजेण्डाबाट पछि हटेको स्रोतको दाबी छ । यता चीनले पनि ओली र प्रचण्ड दुबैलाई पार्टी नफुटाउन र सहमतिमा अगाडि बढ्न दवाव दिएकोले ओली तत्काललाई पार्टी फुटाइहाल्ने अवस्थामा नरहेको अनुमान लगाउन सकिन्छ ।
राजीनामाको तयारी
प्रचण्ड र नेपाल समूहले महाधिवेशन र आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने सहमति गरेपछि ओली आफूले प्रस्ताव गरेको अर्ली महाधिवेशनको एजेण्डाबाट पनि पछि हटेका छन् । प्रधानमन्त्री पद बचाउन गरेका सबै प्रयास असफल भएपछि र प्रचण्ड नेपाल समूह आफ्नो विरुद्धमा थप एकबद्ध भएपछि प्रधानमन्त्री पदबाट भने राजीनामा दिने तयारीमा ओली लागेको स्रोतको दाबी छ ।
राजीनामा दिनुअघि ओली प्रचण्ड प्रधानमन्त्री नबन्ने सुनिश्चित हुन चाहेका छन् । नयाँ प्रधानमन्त्री छान्ने क्रममै प्रचण्ड नेपाल समूहमा फाटो ल्याउने ओलीको रणनीति छ । त्यसैले उनले पछिल्ला दिनहरुमा आफूनिकट नेतामार्फत नयाँ प्रधानमन्त्रीमा आफ्नो पनि सहमति लिनुपर्ने शर्तमा राजीनामा दिन तयार रहेको सन्देश प्रचण्ड–नेपाल समूहलाई दिइरहेका छन् । ओलीले सकेसम्म प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने र बने पनि पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने शर्त अगाडि सार्ने भएका छन् । पार्टीमा एकल अध्यक्ष बनेर महाधिवेशनमा जाँदा पार्टीभित्र थप शक्तिशाली बन्न सकिने बुझाई ओलीको छ ।