नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले समुदायमा संक्रमण छ कि भनेर ‘टर्च बाली–बाली’ संक्रमितहरूलाई खोजेर उपचारको दायरामा ल्याएको दाबी गरेका छन् । सोमवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१ औं वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो दाबी गरेका हुन् ।
मन्त्री ढकालले कूल संक्रमितमध्ये ७० प्रतिशत व्यक्तिलाई निको बनाई घर पठाइसकेको अवस्थामा पनि सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको काम नदेख्नेहरूको आँखामा मोतियाविन्दु लागेको हुन सक्ने टिप्पणी समेत गरे । शक्ति सम्पन्न राष्ट्रहरूले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको भए पनि सरकारको कामलाई नेपालीहरूले नै नदेखेको उनको भनाई थियो ।
‘सीमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरूले यसलाई देख्न सक्दैनन्’ मन्त्री ढकालले भने ‘यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’
त्यसैगरी मन्त्री ढकालले कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेहरूको दर बढी रहेको तर नेपालले शून्य दशमलव २ प्रतिशतभन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको बताए । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशियामै राम्रो रहेको उनको भनाई थियो ।