नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो । पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरू भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ । सहमतिका प्रयासहरू भए पनि सफल हुन सकेको छैन ।
आज पनि स्थायी कमिटी बस्नुअघि दुई अध्यक्षहरू ओली र पुष्पकमल दाहाल प्रचण्ड बसेर सहमतिको प्रयास गर्ने बताइएको छ । आजको बैठकबाट पनि ओली भागेमा बहुमतको आधारमा बैठक अगाडि बढाउने प्रचण्डपक्षका नेताहरूको तयारी छ । गत आइतबार प्रचण्डनिवास खुमलटारमा बसेको ओलीइतरका शक्तिहरूको बैठकले ओलीसँग सहमति नभएपनि आजको बैठक अघि बढाउने र बहुमत सदस्यको निर्णयका आधारमा अघि बढ्ने निष्कर्ष निकालेको थियो ।
ओलीले बैठक चलिरहेकै बेला सार्वजनिक कार्यक्रमार्फत भारतको निर्देशनमा नेकपाकै नेताहरू सरकार ढाल्न उद्यत भएको आरोप लगाएपछि उनको राजीनामाको विषय स्थायी कमिटीमा पनि प्रवेश पाएको थियो । प्रचण्ड माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दवाव दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन ।
ओलीले यहीबीचमा संसद अधिवेशन अन्त्य गरे । उनले अध्यादेश ल्याउने र पार्टी फुटाउनेसम्मको तयारी गरेको आरोप लगाउँदै अर्को पक्ष केही दिन रक्षात्मक देखियो । तर अर्ली महाधिवेशनको कुरा चलेपछि प्रचण्ड-नेपाल समूहले महाधिवेशनसँगै आगामी निर्वाचनसम्मको खाता तयार गरेर लिखित सहमति गरेपछि ओली प्रचण्डको सम्बन्धमा थप दरार आएको छ । प्रचण्ड र नेपाल समूहलाई नफुटाई महाधिवेशनमा जाँदा राजनीतिक अस्तित्व नै धरापमा पर्नसक्ने भन्दै ओली समूह थप रणनीति तय गर्न व्यस्त देखिन्छ ।
स्थायी कमिटी बैठकमा पनि बहुमतका आधारमा निर्णय गर्दै अगाडि बढ्ने सहमति प्रचण्ड र नेपालबीच भएपछि ओलीले निश्चित शर्तमा राजीनामा दिने तयारी गरेको बालुवाटार स्रोतको दाबी छ । नयाँ प्रधानमन्त्रीमा पार्टीबाट सर्वसममत नाम आउनुपर्ने शर्त ओलीले अगाडि सार्ने भएका छन् । यसै मेसोमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उचालेर प्रचण्ड–नेपाल समूहबाट आफूतिर तान्ने प्रयार ओलीले गरिरहेका छन् । आइतबार प्रचण्डनिवासको छलफलमा सहभागि नभएर गौतमले मध्यमार्गी धार समाउँदै ओली र प्रचण्ड दुबै पक्षको सदासयता बटुल्दै प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।
गौतम प्रतिनिधिसभामा नभएकोले उनलाई प्रधानमन्त्री बन्न नेकपालाई मात्र कन्विन्स गरेर हुँदैन । दुई तिहाई समर्थन जुटाएर संविधान संशोधन गर्दै प्रधानमन्त्री बन्नुपर्ने भएकोले गौतमको हकमा प्रधानमन्त्री बन्न नै लामो प्रक्रिया पार गर्नुपर्ने हुन्छ । यता ओली पनि गौतमलाई प्रधानमन्त्री बनाउने सहमति भएमा प्रक्रियागत रूपमा समय लाग्ने भएकोले आफ्नो कार्यकाल केही महिना भएपनि लम्बिने बुझेरै गौतमप्रति सदासय राखेको बुझ्न सकिन्छ ।
यता प्रचण्ड नेपा पक्ष भने महाधिवेशन र आगामी निर्वाचनसम्मको खाकामा सहमति गरेकोले गौतमलाई प्रधानमन्त्री बनाउने पक्षमा छैन । उनीहरूबीच भएको सहमतिमा प्रचण्डलाई महाधिवेशनपछि एकल अध्यक्ष बनाउने र नेपाललाई प्रधानमन्त्री बनाउने विषय उल्लेख छ । त्यसैले ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पनि सहमति लिनुपर्ने शर्त राखेर प्रचण्ड–नेपाल गठबन्धन भत्काउने रणनीतिमा छन् ।

