नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेतहरुबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको हो । अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए ।
आजको बैठक पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले स्थगित गरिएको नेकपाले जनाएको छ ।
बैठक स्थगित भएको सूचना स्थायी कमिटी सदस्यहरुलाई पठाइएको हो । केही नेताहरु बालुवाटार जाँदै गर्दा बैठक स्थगित भएको सूचना आएपछि अलमलमा परेका थिए । प्रधामन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबिच आवश्यक परामर्श र गृहकार्यका लागि बैठक स्थगित गरिएको बताएका छन् ।
ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सचिवलायको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले मंगलबारका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको उनले उल्लेख गरेका छन् ।
बैठक स्थगित भएको सूचना विष्णु पौडेलले दिनु पर्नेमा सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका हुन् । थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएर पनि पार्टीको जानकारी पौडेलले दिनु पर्नेमा आफै दिएका हुन् ।