नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

काठमाडौँको कमलादीबाट बरामद गरेको मध्ये आधा किलो मात्रै सुन रहेको प्रहरीले जनाएको छ । १५ किलो मध्ये साढे १४ किलो चाँदीमा बाहिरबाट सुन लेपन गरिएको पाइएको प्रहरीले जानकारी दिएको हो । आधा किलो सुनको मूल्य (मंगलबारको बजार मूल्य अनुसार) ४२ लाख ९ हजार पाँच सय बराबरको रहेको छ ।
यस्तै साढे १४ किलो चाँदीको मूल्य १५ लाख ५६ हजार बराबरको रहेको प्रहरीले जानकारी दिएको हो । सुन चाँदीसहितको झोला फालेर तस्करहरु फरार भएको प्रहरीले जनाएको छ । कमलादी चेकप्वाइन्टमा नजिक तस्करहरु झोला फालेर भागेको हुन् । उक्त झोलाबाट दुई थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
स्कारपियो गाडीमा रहेको तस्करको समूहलाई प्रहरीले पिछा गर्ने क्रममा नविल बैंक अगाडि आएपछि उक्त झोला फालेर गाडी सुन्धारातिर मोडिएको प्रहरीको दाबी छ । उक्त गाडीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

