नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै ६ बुँदे नयाँ प्रस्ताव अगाडी सारेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै उपाअध्यक्ष गौतमले नेताहरूसामु ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।
मंगलवार सार्वजनिक गरिएको एक पत्रमा गौतमले ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधिभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने र प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी उक्त प्रस्तावमा पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनन्दिनका कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरूमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने कुरा समेत उल्लेख गरिएको छ । पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । योसँगै अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमा मात्रै आयोजाना गर्ने लगायतका प्रस्ताव गौतमले अघि सारेका छन् ।
यस्ता छन् वामदेव गौतमका ६ प्रस्तावः
१) केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।
२) पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।
३) पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।
४) प्रधानमन्त्रीका दैनन्दिनतका कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरूमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरूको पदोन्नति र सरूवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।
५) पार्टी केन्द्रीय सचिवालको सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालको परामर्श लिने ।
६) अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने ।

