नवकान्तिपुर संवाददाता
काठमाडौं
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र ५ वर्ष नै प्रधानमन्त्री बनाउनेुपर्ने भन्दै आज ६ बुँदे लिखित प्रस्ताव सार्वजनिक गरेका थिए ।
आज बोलाईएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेकोमा प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यहरु बालुवाटारमै बैठक बसेका थिए । सो बैठकले अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको छ । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समर्थन गर्दै ओलीको राजीनामा मागेका गौतम एकाएक ओलीको समर्थनमा लिखित प्रस्ताव नै पेश गरेपछि नेकपाको शक्ति सन्तुलन फेरिएको छ ।
आज बालुवाटारमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा पनि सहभागि थिएनन् । उनले पनि प्रचण्ड-नेपाल क्याम्प छोडेको चर्चा छ । थापाले पनि ओलीलाई समर्थन गरेको खण्डमा ओलीको सचिवालयमा बहुमत समर्थन् पुग्नेछ । त्यसैले ओलीले आजैबाट दौडधुप सुरु गरेका छन् ।
गौतमनिवास भैंसेपाटीमा ओलीसँगै महासचिव विष्णु पौडेल पनि सहभागि छन् । उनीहरु आगामी रणनीति तय गर्न व्यस्थ रहेको स्रोतको दाबी छ । तत्काल सचिवालयमा बहुमत जुटाउने र स्थायी कमिटी स्थगित गरेर सचिवालयमार्फत प्रचण्ड-नेपाल समूहको सामना गर्ने ओलीको योजना रहेको छ ।