नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको छ । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरी कर्मचारीको संख्या ३७ पुगेको हो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए ।
सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले अघोषित रुपमा जिल्ला नै सिल गरेको छ । आवतजावतमा पूर्ण सुरक्षा कडाइ गरेको छ । अत्यावश्यकबाहेक अन्य कामले बाहिर ननिस्कन र अटेरी गरे कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको छ ।
९९ जनाको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा एक तिहाइ भन्दा बढी जनशक्ति संक्रमित भएका हुन् । यसले सेवा प्रवाहमा नै समस्या पार्न सक्ने आँकलन गरेर प्रदेश प्रहरी कार्यालय पोखरामा एक टोली तयारी अवस्थामा राखिएको छ ।
मंगलबारमात्रै पुतलीबजारमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख काफ्लेले बताए । मंगलबारनै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका ४ जना र वालिङ नगरपालिकाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।