नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

सरकारले चार महिनापछि लकडाउन खुकुलो गरेसँगै साउन ८ गतेबाट सार्वजनिक यातयातहरू सञ्चालनमा आएपनि प्रायजसो सार्वजनिक साधनहरूमा चढ्ने यात्रुहरूको संख्यामा भने कमी देखिन्छ । सरकारले गत साउन ६ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गरे पनि होटल तथा रेस्टुरेन्ट, अन्तर जिल्ला सञ्चालन हुने यात्रुबाहक सवारी साधन, आन्तरिक तथा वाह्य हवाइ उडान, शैक्षिक संस्था, धार्मिक स्थल र सिनेमा हलहरू अझै सञ्चालनमा आएका छैनन्, जसका कारण अधिकांश सार्वजनिक सवारी साधनहरूमा यात्रुहरूको संख्यामा कमी देखिएको हो ।
कोरोना भाइरसको जोखिमका कारण पछिल्लो समय सरकारले सार्वजनिक सवारी साधनहरूमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्न पाइने व्यवस्था गरेको छ । प्रायजसो थोरै यात्रुहरू मात्र पाइने गरेको र कहिलेकाहीं सिट क्षमताभन्दा बढी नै यात्रुहरू पनि राख्नु परेको सार्वजनिक सवारी चालकहरू बताउँछन् ।
सबै गाडी एकै पटक चलाउँदा यात्रुहरू नपाएकोले कालो नम्बर प्लेट (भाडावाला गाडी) भएका गाडीहरूमा जोर बिजोर लागु गरिनुपर्ने नारायणटार–रत्नपार्क माइक्रो चलाउने माइक्रो चालक दिनेश खड्कीको भनाई छ । ‘एउटा ट्याम्पोमा पाँच जना भन्दा बढी राख्नै पाइँदैन’, रत्नपार्क–गौशाला ट्याम्पो चलाउने प्रेमबहादुर भन्छन्, ‘मान्छे छैन, एक दुई जना मात्रै पाउँछ । सबै काठमाडौं बाहिर गाउँतिर नै छन् । यहाँ भएकाहरू पनि कोरोनाको डरले गर्दा गाडी चढ्दैनन् । भक्तपुर ठिमी हुदै पुरानो बसपार्कसम्म माइक्रो चलाउँदै आएका माइक्रो चालक भीमबहादुर श्रेष्ठ भन्छन् ‘माइक्रोमा राख्न त आठ जना राख्न मिल्छ, तर मान्छे पाइँदैन । ठिमीबाट यहाँ (पुरानो बसपार्क) आएको जम्मा डेढ सय मात्रै उठ्छ, गाडीमा तेल हाल्नै पुग्दैन ।’
सडक गल्ली तथा बजारहरूमा मानिसहरूको भिडभाड बढेको देखिए पनि मंगलवार रत्नपार्क, सुन्धारा, शहीदगेट, त्रिपुरेश्वर, बबरमहल, नयाँबानेश्वरलगायतका प्रतिक्षालयहरूमा सार्वजनिक सवारी चढ्ने र गुडिरहेको सवारी साधनहरूमा पनि यात्रुको संख्या कमै देखिन्थ्यो ।
कारोनाको बढ्दो जोखिम, सावधानीको कमी
कारोना भाइरसको जोखिमका बीच सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरूमा अहिले कोरोनाको जोखिम पनि उत्तीकै बढ्दै गइरहेको छ । हुन त सरकारले सार्वजनिक सवारी साधन चलाउँदा अनिवार्य रूपमा चालक, सहचालक र यात्रुले माक्स र स्यानेटाइजरको प्रयोग गर्नुपर्ने जनाएको छ । योसँगै सरकारले सिट क्षमताभन्दा कम यात्रु राख्न मिल्ने र भाडादर पचास प्रतिशत बढी लिन पाउने भनेको छ । तर अधिकाशं सार्वजनिक यातायातहरूमा कतिपयले मास्क नै नलागाएको, कतिपयले सही तरिकाले मास्क नलगाएको र भौतिक दुरीको पनि ख्याल नगरेको देखिन्छ, जसले गर्दा कोरोनाको जोखिम झनै बढेको देखिन्छ । योसँगै सार्वजनिक यातायातहरूमा चढ्ने विद्यार्थी, अशक्त र जेष्ठ नागरिकहरूले आइडी कार्डमा छुट पनि पाइरहेका छैनन् ।
लकडाउन हटेपछि केहीले मास्कसमेत नलगाइ हिँडडुल गर्ने, सार्वजनिक यातायातहरूमा बढी भाडा लाग्ने र कोरोना भाइरसको जोखिमबाट बच्न सावधानी नपनाउने सवारी साधनहरूलाई अनुगमन गरी कारबाही गर्दै आइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले आइडी कार्डमा भाडा छुट सम्बन्धि गुनासोहरू नआएको र आएमा कारबाही गरिने बताए । सामाजिक दुरी कायम नगर्ने सार्वजनिक सवारीलाई र बढी भाडा लिनेलाई कारबाही भइरहेको ढकाले बताए ।

