नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

नेपाली सेनाका तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन भएको छ । आमाशयसम्बन्धी समस्याको उपचारका लागि थापाथलस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पूर्वबलाध्यक्ष रथी खड्काको आज निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
स्व खड्काको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उनीप्रति सेनाको एक टुकडीले सम्मानस्वरुप अन्तिम सलामी अर्पण गरेको थियो । पुख्र्यौली घर लमजुङ भई सेनाका विभिन्न पदमा रही ३८ वर्ष सेवा पर्याउका ६९ वर्षीय खड्काका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई बर्खास्त गरी खड्कालाई प्रधानसेनापति नियुक्त गरेको थियो । यद्यपि उक्त निर्णय कार्यान्वयन भएन । बलाध्यक्ष खड्कालाई प्रधानसेनापति बनाउने निर्णयलाई तत्कालीन १८ राजनीतिक दलको आग्रहमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवले उल्टाएर प्रधानसेनापति कटवाललाई पुनःबहाली गरेका थिए ।
उक्त घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाटै राजीनामा दिएका थिए । कटवालको बर्खास्ती र खड्कालाई प्रधानसेनापति बनाउने निर्णयसँगै तत्कालीन राजनीतिक घटनाले अर्कै बाटो लियो । सेनापतिले तत्कालीन सरकारको आदेश पालना नगरेको जनाउँदै सो सरकारले नागरिक सर्वोच्चताको विषय प्रखर ढङ्गबाट उठाएको थियो ।

