नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
त्यस्तै, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश-१, प्रदेश-२, बागमती र कर्णाली प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । नेपालको तराई भूभाग नजिक न्यून चापीय रेखा रहेकाले मनसुन थप सक्रिय भई आज र भोलि वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए ।
उनका अनुसार यसवर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुवान र पहिराको जोखिम बढेको बताइएको छ । मनसुन सक्रिय भएसँगै नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

