नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।
काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ । मंगलबार मात्रै काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको थियो । उपत्यकामा एकैदिन पुष्टि भएको यो अहिलेसम्मकै धेरै संख्या हो ।
यससँगै काठमाडौंमा २२८, ललिपुरमा ५८ र भक्तपुरमा २० जना संक्रमित छन् । संक्रमित सबैको उपत्यकाका कोरोना अस्पतालमा उपचार भइरहेको छ । संक्रमितहरू धेरै विदेशबाट आएका रहेको बताइएको छ । यस्तै बाहिरी जिल्लाहरूबाट उपत्यका प्रवेश गरेका व्यक्तिहरूमा पनि संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय उपत्यकामा पनि संक्रमित संख्या बढ्दै गएपछि यसले थप जोखिम निम्त्याएको विज्ञहरूले औंलाएका छन् । अहिले उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकाहरू थानकोट, फर्पिङ र साँगामा मानिसहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको छ ।
काठमाडौंको कपुरधारा, कपन, चन्द्रागिरि, मैचीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमुल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, वसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु, कुलेश्वरमा संक्रमित भेटिएका छन् ।
भक्तपुरमा सल्लाघारी, दुवाकोटा, बागेश्वरी, दुधपाटी, बालकोट, गठ्ठाघर, बोडे, भोलाछेमा संक्रमत भेटिएका छन् भने ललितपुरको महालक्ष्मी, महालक्ष्मी स्थान, बुङ्मति, लुभु, लगनखेल, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाँउ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जावलाखेल, गोटीखेल, कुपण्डोल, ग्वार्को, ठेचेमा संक्रमितहरु फेला परेका छन् ।