नैतिक संकटमा ओली, वामदेवको समर्थन सिंङ न पुच्छार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मंगबार छताछुल्ल भयो । प्रधानमन्त्री केपी ओलीले स्थगित गरेको स्थायी कमिटी बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सञ्चालन गरेर देखाइदिए । बैठकमा ओलीनिकट नेताहरू भने सहभागि भएनन् । ४४ सदस्सीय स्थायी कमिटी रहेको नेकपाका २९ सदस्य बैठकमा उपस्थित थिए । सो बैठकले ओलीले विधिविपरीत स्थायी कमिटी बैठक स्थगित गरेको निष्कर्ष निकालेको थियो । २९ जना स्थायी कमिटी सदस्यले ओली विधिविपरीत हिँडेको बताएपछि ओलीमा नैतिक संकट आइलागेको छ ।

स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन भन्दै यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारू गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसका साथसाथै सो बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटललाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउनका निम्ति पार्टीका सबै नेता कार्यकर्ता र सदस्यहरूलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ । बहुमत सदस्यको साथ हुँदा हुँदै पनि पार्टी एकता बचाउन भन्दै प्रचण्ड नेपाल समूहले ओलीविरूद्ध कुनै अप्रिय निर्णय भने लिएन ।



गौतमको यु–टर्न
प्रचण्ड नेपाल समूहमा रहेर ओलीको राजीनामा मागिरहेका नेकपा उपाध्यक्ष वामदेव गौतमले मंगलबार एकाएक ओलीको समर्थनमा उत्रिए । ६ बँुदे प्रस्ताव पेश गर्दै उनले ओली महाधिवेशनसम्म पार्टी अध्यक्ष र ५ वर्ष नै प्रधानमन्त्री रहने बताए । प्रचण्डलाई महाधिवेशनसम्म कार्यकारी अधिकार दिने उनको प्रस्ताव थियो । पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका ओलीलाई गौतमले साथ दिएपछि केही राहत महसुस गरे । पानी बारबारको अवस्थामा रहेका ओली गौतम सम्बन्ध एकाएक सुमधुर देखियो । हिजै साँझ ओली गौतम निवास पुगेर डिनर पनि गरे ।

ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको स्रोतको दाबी छ । तर तत्कालको अवस्थामा ओलीले या नेकपाले मात्र चाहेर गौतम प्रधानमन्त्री बन्ने अवस्था नरहेकोले नै ओलीले गौतमलाई प्रधानमन्त्रीको ललिपप देखाएको एकथरी विश्लेषकको बुझाइ छ । समग्र नेकपाको शक्ति सन्तुलनमा गौतमले ओलीलाई समर्थन गरे पनि कुनै फेरबदल आउने देखिएको छैन ।

तर ओलीले भने गौतमको साथ पाएपछि थप स्थायी समिति सदस्यलाई प्रभावमा पारेर सचिवालयमा र स्थायी कमिटीमा बहुमत जुटाउने प्रयास गर्ने भएका छन् । हिजोको स्थायी कमिटी बैठकमा पदको लडाइँमा आफ्नो समर्थन नरहेको बताएका नेता भीम रावल र बैठकमंै उपस्थित नभएका गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ओलीको निशानामा परेका छन् ।

यता प्रचण्ड नेपाल समूह भने बहुमत समर्थन हुँदाहुँदै पनि निरिह देखिएको छ । एक्शनमा जाँदा पार्टी फुट्ने, रक्षात्मक हुँदा ओलीले नटेर्ने अवस्था आएपछि उनीहरू पनि थप रणनीतिमा लागेका छन् । वरिष्ठ नेता माधव नेपालले ओली आफू प्रधानमन्त्री हुँदासम्म महाधिवेशन गर्न नदिने रणनीतिमा रहेकोले महाधिवेशन भन्दा राजीनामामा जोड दिनुपर्ने प्रस्ताव प्रचण्डसँग राखेका छन् । तर स्थायी कमिटीका केही नेताहरू भने राजीनामालाई जोड दिंदा पार्टीले फुट बेहोर्नुपर्ने हुँदा महाधिवेशनमा जोड दिनुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार