
मंगलबार रातिदेखिको अविरल वर्षाले कैलाली जिल्लाको भजनी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । भजनी नगरपालिकाको वडा नम्बर ८ मा मात्र १ हजार २ सय घर डुबानमा परेको वडा नम्बर ८ का वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिएका छन् ।
अध्यक्ष चौधरीका अनुसार वडा नम्बर ८ को सखरवामा स्थानीय रामकुमार चौधरीको घर नजिक तटबन्ध भत्काएर पथरिया नदी गाउँ पसेपछि दैलेखी टोल, कुसुमघाट, कृष्णनगर, गोरचौडा, खैरा र सोनाहाफाँटा गाउँ डुबानमा परेका छन् ।
गोरचौडामा बाढीमा फसेका एक युवालाई प्रहरीले उद्धार गरेको छ भने उनी चढेको मोटरसाइकल बाढीमा बगेको छ । से ३ प ४६७० नम्बरको मोटरसाइकलमा रहेका भजनी–३ कन्हैयापुरका अस्मित चौधरीलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । उनी गोरचौडामा आफन्तलाई भेट्न गएका थिए ।
वडा नम्बर ३ मा काँडा नदीले ढुसीमा तटबन्ध भत्काएको छ। नदी गाउँ पसेपछि पकरिया डाँडा, ढुसी गाउँ, कन्हैयापुर डुबानमा परेका छन् । वडा नम्बर ५ लालबोझीमा मा ३ सय ५० घर डुवानमा परेपछि त्यहाँका १ हजार ८ सय मानिसहरुलाई उद्धार गरी हुलाकी राजमार्गमा ल्याइएको कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।
नेपालमा मनसुन पुनः सक्रिय हुँदा लगभग देशभर नै भारी वर्ष भैरहेको छ र बाढी पहिरोले जनधनको क्षति गरेको छ । पहिरोले मानिसहरु पुर्नुाक साथै बाढीले पनि मानिसहरुको जीवन अस्तव्यस्त बनाइदिएको छ ।

