मलाई ओलीबाट केही आशा छैन, पार्टी नफुटोस् भनेर मात्र साथ दिएको हुँ : गौतम

प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिरहेका नेकपा उपाध्यक्ष वामदेव गौतम मंगलबार एकाएक ओलीको समर्थनमा उत्रिए । सोही दिन साँझ ओली गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेपछि नेकपाको राजनीतिक शक्ति सन्तुलनमा उथलपुथल आयो । गौतमले ६ बुँदे प्रस्ताव जारी गर्दै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने र महाधिवेशनसम्म अध्यक्ष कायमै रहने बताए । उनको उक्त प्रस्तावलाई ओलीइत्तरका केही स्थायी कमिटी सदस्यले पनि समर्थन गरेका छन् ।

विवाद उत्कर्षमै पुगेको बेलामा क्याम्प चेन्ज गरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल भने गौतमसँग रूष्ट हुन पुगेका छन् । उनीहरूमात्र होइन, नेकपाका दोस्रो पुष्ताका नेताहरूले पनि गौतमले ढुलमुले व्यवहार देखाएको भन्दै आलोचना गरिरहेका छन् । वामदेवको पछिल्लो ६ बुँदे प्रस्तावले पार्टीलाई यथास्थितिमा राख्ने भन्दै वामदेवलाई ओलीले किनेको आरोप उनीहरूले लगाएका छन् ।



बुधबार एक हुल दोस्रो पुस्ताका नेताहरू वामदेवलाई निवासमै भेट्न पुगेका थिए । उनीहरूले गौतमलाई पटक पटक धोका दिंदै आएका ओलीलाई बोकेर ठीक नगरेको चेतावनी दिए । यसरी निवास पुगेर चेतावनी दिनेमा ठाकुर गैरे, रविन कोइराला, रामकुमारी झाँक्री, डा. दिपकप्रकाश भट्ट, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायत थिए । ओली जनतामा थप अलोकप्रिय भएकोले उनलाई साथ दिँदा आफू पनि अलोकप्रिय बन्नेबारे ख्याल गर्न उनीहरूले गौतमलाई आग्रह गरेका थिए ।

जवाफमा गौतमले पार्टीलाई फुटबाट जोगाउन ओलीको समर्थन गर्नुपरेको बताएका थिए । तत्काल ओलीलाई राजीनामा दिन बाध्य पारेर पार्टी फुटाउनुभन्दा यथास्थीतिमैैं अगाडि बढ्नु उपयुक्त हुने गौतमको भनाइ थियो । ‘ओली गतिला छैनन्, मलाई निर्वाचनमा हराउने पनि उनी नै हुन् । स्थायी कमिटीले राष्ट्रयसभामा लैजाने निर्णय गरिसक्दा पनि उक्त निर्णयको कार्यन्वयन गरेनन् । पटकपटक प्रधानमन्त्री बनाउने आश्वासन दिएर धोका दिइनै रहे । तर पनि उनको समर्थन गर्नुपर्ने अवस्था पार्टी नफुटोस् भनेर नै आएको हो । यसलाई तपाईहरूले अन्यथा नठान्नुहोस्’ गौतमको भनाइ उध्रित गर्दैै एक नेताले बताए ।

सो भेटमा गौतमले सहभागीहरूमाझ ओलीलाई मूर्खको संज्ञा दिएका थिए । उनको मुख्र्याइँले नेकपाको भविष्ट संकटमा पर्नसक्ने भएकोले तत्काल ओलीलाई बेहोर्नुमै नेकपाको भविष्य रहेको गौतमको भनाइ थियो । महाधिवेशनबाट नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउन सकिने गौतमको भनाइ थियो । गौतमले ओलीसँग कुनै सहमति या लेनदेन भएको कुरालाई नकारेका थिए । ‘ओलीबाट मलाई केही कुराको आश छैन । उनीबाट पटक पटक धोका पाएको छु, फेरि पनि धोका नै पाउने हो । तर पनि मेरो नयाँ प्रस्तावले नेकपालाई फुटबाट जोगाएको छ’ गौतमको भनाइ थियो ।

नेकपामा सन्नाटा
गौतम एकाएक ओलीको समर्थनमा उत्रिएपछि यतिबेला नेकपाभित्र सन्नाटा छाएको छ । प्रचण्ड नेपाल समूह थप रणनीतिमा जुटेको छ । गौतमको प्रस्तावले पार्टी थप अलोकप्रिय हुने उनीहरूको ठहर छ । गौतम ओली क्याम्पमा गए पनि नेकपाको शक्ति सन्तुलनमा कुनै असर नपर्ने भन्दै प्रचण्ड नेपाल समूहले प्रक्रियागत रूपमै ओलीको राजीनामा माग्ने तयारी गरिरहेका छन् ।

यता ओली पनि गौतमको साथ पाएपछि प्रचण्ड नेपाल समूहका केही नेताहरूलाई आफूतिर तानेर सचिवालय र संसदीय समितिमा बहुमत पुर्याउने खेलमा लागेका छन् । यता १५२ जना केन्दीय सदस्य भने केन्द्रय कमिटी बैठक बोलाएर निकास खोज्नुपर्ने भन्दै हस्ताक्षर पार्टी कार्यलयमा बुझाएका छन् ।

सम्बन्धित समाचार