नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
मराठी एक्टर आशुतोष भाकरेले आत्महत्या गरेका छन् । ३२ वर्षीय भाकरेले महाराष्ट्रको नान्देडस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भारतीय पुलिसका अनुसार उनको शव नान्देडस्थित उनको बंगलामा झुण्डिरहेको अवस्थामा फेला परेको थियो । उनी एक महिना अगाडि मात्रै नान्देड गएका थिए । उनले किन आत्महत्या गरे भन्ने बारेमा भने अहिलेसम्म केही खुल्न सकेको छैन ।
उनी फिल्म एण्ड टिभी एक्ट्रेस मयुरी देशमुखका पति थिए । उनीहरुले २१ जनवरी सन् २०१६ मा विवाह गरेका थिए । उनी इण्डस्ट्रीमा चर्चित एक्टर थिए ।