व्यस्त डबलीको मन्द व्यापार (फोटो फिचर)

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ११ गतेदेखि लामो समयसम्म बन्दाबन्दी जारी राख्यो । त्यही बन्दाबन्दीले विभिन्न पेशा, व्यवसाय, उद्योगधन्दा, कलकारखाना र आम मानिसहरूको दैनिकीमा समेत प्रभाव पर्न गयो । पछिल्लो समय गत साउन ६ गते रातीबाटै नै लकडाउन अन्त्य भइसकेको छ, तर पनि यो बेला धेरै क्षेत्रमा लकडाउन कायमै छ । अझै पनि सिनेमा हल, पार्टी प्यालेस, शैक्षिक संस्थाहरू, धार्मिक स्थलहरू, डान्सबारलगायतका मनोरञ्जन स्थलमा प्रतिबन्ध कायमै छ ।

सकारले लकडाउन खोलेको भनेको भोलिपल्टैबाट विभिन्न व्यापार, पेशा, व्यवसायहरू सञ्चालनमा आएपनि व्यापार भने राम्रो हुन नसकेको व्यपारीहरू बताउँछन् । कोरोना भाइरसको जोखिमका बाबजुत पनि व्यापार व्यवसाय सञ्चालनमा ल्याएका व्यवासायीहरूलाई यतिबेला कोरोनाको डरभन्दा पनि व्यापार हुन नसकेकोमा चिन्ता छ ।



सामान्य अवस्थामा आन्तरिक र वाह्य पर्यटकहरूको भिडभाड हुने क्षेत्र होे काठमाडौंको बसन्तपुर क्षेत्र । यतिबेला बसन्तपुर डबलीको एक छेउमा ‘इनफ इज इनफ’ का केही अभियान्ताहरू कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सरकारलाई खबरदारी स्वरूप अनसनरत छन् भने अर्को तिर बर्षौदेखि डबलीमै व्यापार गरिरहेका व्यापारीहरूले व्यापार सञ्चालन गरिरहेका छन् । लामोसमयसम्म बन्दाबन्दीका कारण आम्दानीको मुख्य स्रोत व्यापार बन्द गरेर बसेका व्यापारीहरू अहिले पहिलेकै लयमा फर्कन थालेका छन् ।

 

करिव तीन दशकभन्दा लामो समयदेखि डबलीमा हातमा लाउने बाला, चुरा, नेकलेस, चम्चा, खुकुरीहरूको व्यापार गर्दै आइरहेकी लक्ष्मी खत्री कोरोनाका कारण अहिले व्यापार खासै नभएको बताउँछिन् । चार महिनासम्म बन्द भएको व्यापार केही दिनअघि मात्रै सुरू गरेको भन्दै उनले अब व्यापार विस्तारै बढ्दै जाने आशा सुनाइन् । त्यसैगरी लामो समयदेखि विभिन्न देवीदेवताका मूर्ति, रत्न, आभूषणको व्यापार गर्दै आइरहेका अर्का व्यापारी राजेश सुनुवार लकडाउनको समयपछि दैनिक दुई चार सयको मात्रै हुने गरेकोे बताउँछन् । मानिसहरूको आवातजावत नै राम्ररी हुन नसकेको र खासगरी यस्तो बेला पर्यटनहरू पनि नभएकाले व्यापार हुन नसकेको उनी सुनाउँछन् । अहिले पनि कोरोनाको जोखिम कायमै रहेकोले कोरोनाबाट बच्नको लागि भने मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्ने गरेको उनले बताए ।

डबलीमा व्यापार गरिरहेको व्यापारीहरू अब पहिलेकै अवस्थामा फर्कन दशैं नै कुर्नपर्ने अनुमान अर्का व्यापारी रीता महर्जनको छ । झण्डै पैंचालीस वर्षदेखि यही व्यापार गर्दै आएकी महर्जन भन्छिन्, ‘पहिले पहिले दैनिक सात आठ हजारको व्यापार हुन्थ्यो, अहिले कोरोनाले गर्दा मुस्किलले दिनमा एक दुई हजार मात्रै हुन्छ ।’ चार महिनासम्म बन्द गरेको व्यापार साउन २ गतेबाट सुरू गरेपनि सामान्य अवस्थामा फर्कन धेरै समय लाग्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार