नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । परिवारमा एकजना सदस्यको विपदमा परि मृत्यु भएमा २ लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।
राहत वितरण गर्दा कतै दोहोरीने र कसैले नपाउने गुनासो आउने गरेका कारण त्यसको अन्त्य गर्न सरकारले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति सरकारले लिएको उनले बताए । उनले भने, ‘संघ, प्रदेश र स्थानीय तह गरी तीन तहबाटै राहात जाँदा कहीँ दोहोरो तेहेरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति नहोस् भनेर एकद्वार भनिएको हो ।
सरकारले विद्यालय भवन र परिसरमा क्वारेन्टिन र आइसोलेसनसम्बन्धि कुनै पनि काम सञ्चालन नगर्ने निर्णय पनि गरेको छ । क्वारेन्टिन र आइसोलेसनका रुपमा अहिले प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय पनि सरकारले गरेको उनले बताए ।
यस्तै विद्यालय र परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुनेगरी कोभिड १९ रोकथाम र नियन्त्रणसम्बन्धि संरचना नराख्ने निर्णय पनि सरकारले गरेको छ । शैक्षिक सत्र २०७६र०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका भए नजिता प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको विवरण एकिन गर्न पनि सरकारले भनेको छ । विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने, शैक्षिक कृयाकलाप सञ्चालन गर्न विद्यालय शिक्षकहरुलाई विद्यालय पुगिसक्ने व्यवस्था मिलाउन पनि सरकारले भनेको छ ।
यस्तै सरकारले नेपाली दूतावास मस्कटको चान्सरी र राजदूत निवास निर्माणका लागि सरकारले छुट्याएको कूटनीतिक क्षेत्रमा वार्षिक ओमानी मुद्रा ५ सय बैजा अर्थात ६ लाख ३७ हजार ७ सय ३५ नेपाली रुपैयाँ २० वर्षसम्मका लागि जग्गा भाडामा लिन सम्झौता गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात स्वीकृति दिने निर्णय पनि गरेको छ ।