नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार साँगा, नागढुंगा, फर्पिङ नाकाबाट ती स्वाब संकलन गरिएका हुन्।
विभिन्न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि मन्त्रालयले ती नाकाहरुमा कडाइसाथ स्वाब संकलन गरिरहेको छ। केही दिनयता संकलन गरिएको ३ हजार ४ सय ७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।