गौतमले साथ छोडेपछि झस्किए प्रचण्ड, असन्तुष्ट भनिएका पूर्वमाओवादी नेताहरूलाई खुमलटारमै बोलाएर फकाए

उपाध्यक्ष वामदेव गौतमले साथ छोडेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल शतर्क देखिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले थप आफ्ना सहकर्मीलाई आफ्नो क्याम्पमा तान्न सक्ने भन्दै आफूसँग असन्तुष्ट भनिएका पूर्वमाओवादी नेताहरूलाई खुमलटारमै बोलाएर प्रचण्डले छलफल गरेका छन् ।

नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेललगायतका नेताहरू प्रचण्ड निवास खुमलटारमा छलफलका लागि पुगेका थिए । छलफलको लागि अर्का स्थायी कमिटी सदस्य लेखराज भट्टलाई पनि बोलाइए पनि उनी सहभागी भएका थिएनन् ।



नेकपाभित्र जारी संघर्षमा प्रचण्डसँग असन्तुष्ट भनेर प्रचार गरिएका नेताहरूले भने आज खुमलटारमा अध्यक्ष प्रचण्डसँग एकताको पक्षमा रहेर अभिव्यक्ति दिएका बताएका थिए । उनीहरूले पार्टी नफुटाउने शर्तमा प्रचण्डलाई सहयोग गर्न तयार रहेको बताएका थिए । उनीहरूमध्ये केहीले आफू कुनै विचार समूहमा नरहेको र बाहिर गलतरूपमा प्रचार गरिएको बताएका थिए ।

प्रचण्डले ओली पार्टीभित्र थप चलखेलमा लागेको भन्दै शतर्क रहन आग्रह गरेका थिए । गौतमले पेश गरेको ६ बुँधे शर्तले पार्टीलाई यथास्थितिमा राख्ने भन्दै स्वीकार गर्न नसकिने प्रचण्डले बताएका थिए । ओली समूहको रणनीति महाधिवेशन निर्वाचनपछि धकेल्नु रहेको भन्दै ओली नै निर्वाचनसम्म सरकार र पार्टीको नेतृत्वसम्म रहँदा निर्वाचनमा नेकपा बढारिने भन्दै बेलैमा सचेत रहनुपर्ने आवश्यक रहेको बताएका थिए । ओलीले कुनै एक पदबाट राजीनामा नदिएसम्म तत्कालको विवाद समाधान हुनै नसक्ने आफूहरूको अडान कायमै राख्नुपर्ने प्रचण्ड भनाइ थियो ।

पछिल्लो समय भट्ट र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा पनि प्रचण्डसँग असन्तुष्ट रहँदै आएका छन् । ओलीले गौतमलाई आफ्नो क्याम्पमा तानेसँगै नेकपाको विवाद स्थायी कमिटीबाट नभई सचिवालयबाट समाधान गर्नुपर्ने बताउदै आएका छन् । प्रचण्ड र माधव नेपाल पक्षका नेताहरू भने स्थायी कमिटी बैठकबाटै विवादको समाधान खोजिनुपर्ने अडानमा छन् ।

सम्बन्धित समाचार