वीरगन्जमा थप २ संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५४ पुग्यो

वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको विहीबार मृत्यु भएको हो । नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा विहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो ।

साउन ५ गते तराइ हस्पिटलमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको आशंकामा साउन १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । साउन १३ गते नै उपचारका क्रममा उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । पीसीआर रिपोर्ट नआउँदै विहीबार बेलुकी पौने ८ बजे उनको मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए ।

उनमा निमोनीयाको जस्तै लक्षण देखिएको र स्वास्थ्य अवस्था पनि जटिल रहेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको डाक्टर सिंहले जानकारी दिए । बेलुकी पौने ८ बजे मृत्यु भएका उनको प्रयोगशालाबाट राति साढे १० मात्रै उनको पोजिटिभ रिपोर्ट आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।



यस्तै वीरगन्ज–२ छपकैयामा बिहीबार बिहान आफनै घरमा मृत्यु भएका ७० वर्षीय वृद्धमा पनि कारोना संक्रमण भएको पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजे प्राप्त रिपोर्टमा मृतक वृद्धमा कोरोना संक्रमण रहेको मेसु उपाध्यायले पुष्टि गरेका हुन् ।

छपकैया स्थित घरमा एक्लै बस्दै आएका ती वृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए । राति सुतेका उनी बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको मुल ढोका तोडेरभित्र पस्दा वृद्ध आफनै कोठामा मृत अवस्थामा भेटिएका थिए । त्यसपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो । बिहिबार राति १० बजे उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले जानकारी दिए ।

योसंगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १२ पुगेको छ । वीरगन्जमा कोरोनाका कारण साउन यता मात्रै ९ जनाको मृत्यु भएको हो । नेपालभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ५४ पुगेको छ ।

सम्बन्धित समाचार