नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।
नेपाली बजारमा सुनको भाउले लाख छुनै लागेको छ । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।
बिहीबारको तुलनामा शुक्रबार चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो ।
नेपाली बजारमा एक वर्षमै सुनको भाउ करिब ३४ हजारभन्दा बढीले बढेको छ । गत वर्षको साउन १२ गते नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कायम भएको थियो ।