नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको जारी विवादकै बीच बृहत् सहमतिको सम्भावना देखिएको छ । त्यसो त पार्टीभित्रको राजनीतिक शक्ति सन्तुलनमा व्यापक परिवर्तन आएसँगै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच वार्ताको वातावरण बन्न सकिरहेको छैन । दुबै अध्यक्ष आ–आफ्नो शर्त अगाडि सारेर वार्ताबाट परपर भैरहेका छन् । तर पनि दुबै समूहसँग नजिकिएर वार्ताको वातावरण बनाउन लागि परेका महासचिव विष्णु पौडेलसँग प्रचण्डले गरेको ब्रिफिङको आधारमा नेकपाभित्र जुनसुकै बेला बृहत् सहमति हुन सक्ने देखिएको छ ।
कहाँ अड्कियो हलो ?
उपाध्यक्ष वामदेव गौतमा आफ्नो क्याम्पमा आएपछि केपी ओली जारी विवाद सचिवालयमार्फत समाधान हुनुपर्ने अडानमा छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा पनि ओलीप्रति सकारात्मक रहेकोले हाल सचिवालयमा ओलीको बहुमत रहेको देखिएको छ । तर प्रचण्ड र माधव नेपाल समूहले भने जारी स्थायी कमिटीबाटै विवादको समाधान गरिनुपर्ने अडान कायमै राखेको छ । दुबै समूह आ–आफ्नै अडानमा रहेकोले पछिल्ला दिनहरुमा नेकपाको जारी विवाद नै अलपत्र परिरहेको छ ।
यता प्रचण्डले भने ओलीसँग वान टु वान वार्तामा बस्न अस्वीकार गरेका छन् । महासचिव विष्णु पौडेलले वार्तामा बस्न गरेको आग्रहलाई उनले अस्वीकार गरेका हुन् । प्रचण्डले दुई नेता वार्तामा बसेर समाधाान ननिस्कने भन्दै वार्तामा पौडेल र झलनाथ खनाललाई पनि सहभागि गराउन आग्रह गरेका छन् । तर प्रचण्डको सो प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेका छन् । ४ जना वार्तामा बस्ने हो भने सचिवालय बैठक नै बस्नु उपयुक्त हुने ओलीको तर्क छ ।
यता आफ्नो बहुमत पुगेकोले सचिवालयमा ओलीले जोड दिएको बुझेका प्रचण्डले भने सचिवालय र स्थायी कमिटीमा विवाद भएकोले केन्द्रीय कमिटीमा छलफल चलाउनेपर्ने नयाँ शर्त राखेका छन् । प्रचण्डले ओलीलाई ‘तपाई अल्पमतमा परे पनि हामी पदबाट गलत्याइहाल्ने पक्षमा छैनौं । तर पार्टीलाई विधिसम्मत त चलाउनुपर्यो नि । त्यसैले दुबै अध्यक्षले आ आफ्नो मत केन्द्रीय कमिटीमा राखौं, बाँकी निर्णय सहमतिमा गरौं’ भन्ने नयाँ प्रस्ताव राखेको स्रोतले बतायो ।
तर ओली प्रचण्ड नेपाल समूहलाई बेवास्था गर्दै गलाउने रणनीतिमा छन् । उनले जारी विवादलाई महाधिवेहनबाट मात्र समाधान गर्न सकिने भन्दै कमिटीगत छलफललाई रोकेर महाधिवेशनको मिति तय गर्नुपर्ने बताउँदै आएका छन् । सबैको सहमतिमा महाधिवेशनमा जाने वातावरण बनेमा र आफू आगामी निर्वाचनसम्म प्रधानमन्त्रीमै रहने सहमति भएमा आफू महाधिवेशनमा अध्यक्ष पदमा नलड्ने ओलीले बताउने गरेका छन् । त्यसका लागि ओलीले आफूलाई सर्वोच्च नेताको पद दिनुपर्ने शर्त राखेका छन् ।
सर्वोच्च नेताबारे प्रचण्ड नेपाल समूहमा छलफल
ओलीलाई सर्वोच्च नेता बनाएर जारी विवाद हल गर्ने बारे प्रचण्डले पनि नेता नेपाल र खनालसँग परामर्श गरेको स्रोतको दाबी छ । पार्टीमा देखिएका सबै गुटको अन्त्य गर्नेगरी बृहत् सहमतिको वातावरण बन्छ भने ओलीलाई सर्वोच्च नेता बनाउन आपत्ति नहुने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको छ । तर सर्वेच्च नेताका अधिकार र कर्तव्यमा पहिले नै क्लियर हुनुपर्ने नेपाल र खनालले प्रचण्डलाई सुझाव दिएका छन् ।
सर्वोच्च नेता महाधिवेशनमा कुनै पनि पदमा उठ्न नपाउनेदेखि फेरि निर्वाचन नलड्ने या प्रधानमन्त्री बन्न नपाउने जस्ता शर्त राखेर ओलीलाई सर्वोच्च नेता बनाउन सकिने सो समूहको प्रस्ताव छ । यदि प्रचण्ड–नेपाल समूहले सर्वोच्च नेता बन्न राखेका शर्तहरू मान्न ओली तयार भएमा नेकपाभित्र बृहत् सहमतिको सम्भावना देखिएको स्रोतको दाबी छ ।
पछिल्लो समय ओली र प्रचण्डबीच दुरी बढेकाजस्तो देखिए पनि उनीहरूले दोस्रो तहका नेतामार्फत् बृहत सहमतिको वातावरण बनाइरहेको बुझ्न सकिन्छ । जारी विवादले नेकपाको लोकप्रियता घटेको र पार्टी फुट्दा पनि राजनीतिक भविष्य अन्योलमा पुग्ने बुझेका नेकपाका अध्यक्षद्वय नै बृहत् सहमति गरेर महाधिवेशनमा जाने वातावरण बनाउने गरी आ–आफ्नो तयारीमा जुटेको पछिल्लो गतिविधिले देखाएको छ ।