महामारीमा पनि अर्थतन्त्र उकालो लाग्नु सुखद : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरसको महामारीबीच पनि नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा सही दिशामा रहनु सुखद पक्ष भएको बताएका छन् । मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आव २०७६-७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धि भएको बताए ।

संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ रहेको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको जानकारी दिए । ठूला अर्थतन्त्र भएका अमेरिका, युरोजोन तथा छिमेकी मुलुक ऋणात्मक अर्थतन्त्रको सिकार भएका बेलामा नेपालमा आर्थिक वृद्धि हुनु चानहुने नभएको उनको भनाइ छ ।



‘कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवस्थामा संसारका १८ मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन्’, मन्त्रालयको तेस्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा आज मन्त्री पुनले भने, ‘यस्तो अवस्थामा पनि ३.२ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो । यो सरकारको सफलता हो ।’

मन्त्री पुनले कोभिड–१९ महामारीकै बीचमा पनि आफ्नो मन्त्रालयअन्तर्गत ठूला जलविद्युत् र सिँचाइ आयोजनाका काम नरोकिएको भन्दै सन्तोष व्यक्त गरे । उनले लकडाउन अवधिभर ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ठूला जलविद्युत् आयोजना र भेरी–बबई डाइभर्सन तथा सिक्टा सिँचाइ आयोजनाका काम निरन्तर भएको उल्लेख गरे । मन्त्रिपरिषद्ले आफ्नै प्रस्तावमा जलविद्युत्सहित ठूला पूर्वाधार आयोजनाका कामलाई अत्यावश्यकमा राखेर निर्माण कार्य अगाडि बढाएको स्मरण मन्त्री पुनले गरे । सोही कारण आव ०७६-७७ मा मन्त्रालयको वित्तीय प्रगति ७२.९१ तथा भौतिक प्रगति ७४.३२ प्रतिशत भएको उनले बताए ।

सम्बन्धित समाचार