नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

सिन्धुपाल्चोकको मेलम्ची–११ गैराबजारमा पहिरोमा पुरिएका ८ जनाकै ज्यान गएको छ। आइतबार बिहान साढे तीनबजेतिर गएको पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राजेश चौधरी, २५ वर्षका विक्रम थिंग, २३ वर्षका मानबहादुर रुम्बा, २० वर्षका सिमन घ्लान, २१ वर्षका शिव बालक धामी र १७ वर्षका सोनम लामा रहेका छन् । यस्तै भारतीय नागरिक ४२ वर्षका राजेन्द्र चौरसियाको पनि निधन भएको छ । अर्का भारतीय नागरिक बारु साहलाई भने जीवितै उद्धार गरिएको डिएसपी काफ्लेले जानकारी दिएका छन् ।
कवर्ड हल निर्माणका लागि खटिएका ९ मजदुर बसेको टिनका टहरा सोमबार बिहान साढे तीन बजेतिर माथिबाट खसेको पहिरोले पुरिएको हो । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका थिए ।
