नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।
मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
राई सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। उमेर हदका कारण राईको भदौ १५ गते अनिवार्य अवकाश हुन लागेको छ। बढुवा सिफारिस समितिले केही दिनअघि राईसहित तीन जनाको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो। राईसँगै चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी बढुवाका लागि सिफारिस भएका थिए।
सोमबारकै मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सिइओमा सुशिल भट्टलाई नियुक्त गरेको छ।
यता प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेको बैठकमा जानकारी दिएका थिए । कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै मंगलबार प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन्।
छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन्। यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूरुसँग छलफल गरेका थिए।