वामदेव गौतम भेट्न प्रचण्ड भैँसीपाटी पुगे

उपाध्यक्ष वामदेव गौतमलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको निवास भैँसीपाटी पुगेका छन् । नेकपाको शक्ति संघर्षमा निर्णायक बन्दै आएका गौतमलाई आफ्नो पक्षमा पार्न दाहाल उनको निवासै पुगेका हुन् ।

एक महिनाअघि नेकपामा सुरु भएको शक्ति संघर्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेर ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पक्षमा उभिएका गौतम साउन १३ गते विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सार्दै ओलीकै पक्षमा उभिएका छन् । पार्टीभित्रको शक्ति संघर्षमा कहिले कता कहिले कता उभिदै आएका गौतम जता उभियो उतै सचिवालयमा बहुमत पुग्ने अवस्था छ ।



गौतम आफ्नो पक्षमा आएपछि आइतबारको भेटमा ओलीले अब पार्टीका सबै समस्या सचिवालयबाटै टुंग्याउनुपर्ने प्रस्ताव गरेका थिए । गौतमका कारण ओलीको पल्ला भारी भएपछि उनलाई फेरि आफ्नै कित्तामा उभ्याउन दाहाल नेपाल पक्ष लागि रहेको छ । अहिले गौतमको निवास भैसीपाटीमा दुई नेताबीच कुराकानी भइरहेको छ ।

सम्बन्धित समाचार