
रुपन्देहीको देवदहमा आफ्नै शरीरमा आगो लगाएका युवाको मृत्यु भएको छ । देवदहको एक क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका उनको थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले युवालाई थप उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताए । उनलाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा लैजाने क्रममा स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल ल्याएको र त्यहीँ मृत्यु भएको राठौरले बताए ।
आत्मदाहको प्रयास गरेका युवालाई बिहान देवदह मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । ती युवाले मंगलबार बिहान झण्डै ३ बजे आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना भाइरसको महामारी फैलिएसँगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षागार्डको काम गर्दै आएका थिए।
