मास्क लगाएरै गाईजात्रा

नेवारी समुदायले काठमाडौंको वसन्तपुरमा दिवंगत भएका आफन्तहरुको नाममा गाईको अनुहार र गणेशको चिन्ह अंकित गाई बनाएर शहर परिक्रमा गराएका छन् । विश्वव्यापी बनेको कोरोना महामारीको जोखिम कायमै रहेका बेला मास्क लगाएर गाइजात्रा मनाइएको हो ।

राजधानीको हनुमानढोका तथा वसन्तपुर दरबार क्षेत्रमा सर्वसाधारण मास्क लगाएरै गाईजात्रामा सहभागी भएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ बाट बच्नुपर्ने तथा परम्परा मनाउनुपर्ने बाध्यताले राजधानीका बासिन्दालाई यसपटक भने नौलो अभ्यास गरायो ।



गाइजात्रामा बालबालिकाहरुलाई मास्क लगाइदिएर नगर परिक्रमा दिइएको छ। योसँगै गाईजात्रा पर्व काठमाडौं उपत्यकासहित देशका विभिन्‍न ठाउँमा विशेष रुपमा मनाइदै छ । विश्वव्यापी बनेको कोरोना महामारीको जोखिम कायमै रहेका बेला उपत्यकामा यो वर्ष मनाउनेहरुको भिड देख्‍न सकिन्छ । गाइको अनुहार र गणेशको चित अंकित गाई बनाएर शहर परिक्रमा गराउँदा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी गर्ने र मोक्ष मिल्छ भन्‍ने धार्मिक विश्‍वास रहिआएको छ ।

शहरमा गाई पाल्नेहरुले गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्‍न भोजन गराइन्छ। तर पछिल्लो समय गाईजात्रालाई देशको राजनीतिक तथा सामाजिक विसंगतिप्रति व्यंग्य प्रहार गर्ने पर्वका रुपमा पनि मनाउने गरेको पाइएको छ ।

काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ । कोरोनाको महामारीले गर्दा यो वर्ष विभिन्न ठाउँमा गाई जात्रा स्थगित गरिएका छन् । गाईजात्रा मनाइएका स्थानमा पनि पहिलेको तुलनामा निकै कमले सहभागिता जनाएका छन् ।

सम्बन्धित समाचार