नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल भएको छ । अध्यक्षद्वयका साथ आजको छलफलमा पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।
अध्यक्षद्वयबीच सोमबार पनि भेटवार्ता भएको थियो । उनीहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएको बताइएको छ । स्थायी कमिटीको बैठक पटकपटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद बढेको छ । स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद बढेको छ ।
यही साउन १९ को छलफलपछि नेता नेम्वाङले संवादहीनता हटेर अध्यक्षद्वयबीच स-सानादेखि हाल सतहमा आएका सबै विषयमा छलफल भएको र दुई अध्यक्ष बसेर सहमति गर्नाको विकल्प नभएको स्पष्ट गरेका थिए । पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षबीच निरन्तर छलफल भएको हो ।