ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा (फोटो फिचर)

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लकडाउनका कारण केही ढिला भएको रानीपोखरी पुनर्निमार्णको कामले पछिल्लो केही समययता गति लिएको छ । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेकोले अब चाँडै नै रानीपोखरी पुनर्निर्माणको काम सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।



पोखरीमा इँटा तथा माटो बिछ्याउने काम सकिएको छ भने हाल पोखरीको चारैतिर पर्खाल लगाउने काम भइरहेको छ । अहिले पोखरीमा पानी भर्ने तयारी भइरहेको छ । केही समययता भएको वर्षाका कारण पोखरीमा पानी जम्न सुरू भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले त्रिचन्द्र क्याम्पसबाट बोरिङ गरेर पोखरीमा पानी भर्ने तयारी गरिएपछि सरोकारवाला निकायले यसमा आपती समेत जनाएका थिए । अहिले पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पनि नयाँ स्वरूपमा निर्माण हुँदैछ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम जारी छ ।

पुनर्निर्माणको विषयलाई लिएर विभिन्न समयमा रानीपोखरी निर्माणको विषय विवादास्पद रहेको थियो । रानीपोखरी पुनर्निर्माणको क्रममा पुरानो शैलीलाई अवलम्बन नगरेको भन्दै काठमाडौं नगरपालिकालाई निर्माण जिम्मेवारीबाट हटाइयो । त्यसपछि उपभोक्ता समितिमार्फत परम्परागत शैली र प्रविधिको प्रयोग गरी मल्लकालीन शैलीमा उक्त पोखरी पुननिर्माण गर्ने प्रतिबद्धता राष्ट्रिय पुन: निर्माण प्राधिकरणले गरेको थियो ।

१८औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलन्यास गरेकी थिइन् । विसं २०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरीको पुर्ननिर्माण २०७७ साल वैशाख १२ गते (५ वर्ष) सम्ममा सक्ने तालिका थियो । तर कोरोना भाइरसको महामारीका कारण पुनर्निर्माणको काम केही प्रभावित भए पनि लकडाउनकै बीच सुरक्षा सावधानी अपनाएर काम सञ्चालन भइरहेको थियो ।

सम्बन्धित समाचार

लोकप्रिय

सम्बन्धित

नवकान्तिपुरका ट्विटहरूः