नवकान्तिपुर संवाददाता
aकाठमाडौं, २१ साउन ।

दाङमा एक किशोरीमाथि अप्राकृतिक मैथुन गराएको अभियोगमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य दुई जना व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
राप्ती गाउँपालिका–३ की १७ वर्षीया किशोरीलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा वडा नम्बर ४ का २४ वर्षीय इसव जिसी, २० वर्षीय भुपाल थापालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेका सोही ठाउँका २६ वर्षीय अर्जुन विक, २८ वर्षीय प्रकाश नेपाली फरार रहेको र उनीहरु दुवैको खोजी भैरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारु मगरले जानकारी दिए ।
घटना साउन १६ गतेको हो । किशोरी आफ्नो प्रेमीसँग घुम्न गएको समयमा चार जना युवाले प्रेमीलाई कुटपिट गरेर घाइते बनाएपछि किशोरीलाई अप्राकृतिक मैथुन गराएका थिए ।
साउन १८ गते पीडितको तर्फबाट प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको थियो । जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले इसव जिसीलाई तुलसीपुरबाट फर्किँदै गर्दा बाटोबाटै र भुपाल थापामगरलाई प्युठानस्थित मामा घरबाट पक्राउ गरेको थियो ।
