नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै गैरहेको छ । बुधबार मात्र काठमाडौं उपत्यकामा १ सय २ जना संक्रमित थपिएका छन् भने एक जनाको निधन भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबार साँझसम्म १ सय २ संक्रमित एकैदिनमा थपिएका हुन् । उपत्यकामा यति धेरै संक्रमित थपिएको यो पहिलो घटना हो ।
महाशाखाका अनुसार संक्रमितमध्ये धेरै बाहिरी जिल्लाबाट आएका, उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका र कतिपय अस्पतालकै कर्मचारीमा समेत संक्रमण देखिएको छ । बुधबार देखिएका १०२ जनामध्ये १६ जना सम्पर्क विहिन छन्। उनीहरुमध्ये केहीको फोन उठेन, केहीको उल्लेखित नम्बर नै मिलेको छैन भने कति जनाको मोबाइल नै अफ भएको बताइएको छ ।
५६ जना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको र २० जना संक्रमित होम आइसोलेसनमा बसेको जनाइएको छ । त्यसबाहेक ३६ जना संत्रमितको ट्राभल हिष्ट्री छ भने ३२ जना संक्रमितमा कोरोनाको कुनै न कुनै लक्षण देखिएको छ।
महाशाखाका अनुसार उपत्यकाका बुढानिलकण्ठ, कपन, शंखमूल, कालीमाटी, नख्खु, गोदावरीका साथै भक्तपुरका विभिन्न ठाउँहरु संक्रमण देखिएको बताइएको छ । दिनहुँ संक्रमितको संख्या बढ्दै जाँदा कोरोना उपचारका लागि छुट्टाइएका अस्पतालका बेड भरिएका छन्। जसले नयाँ संक्रमितलाई कहाँ राख्ने भन्ने अलमल बढाएको छ।
नेपालमा कोरोनाबाट बुधबार एकैदिन ६ जनाले ज्यान गुमाएका छन् । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको ज्यान गएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।