पत्रकार सम्मेलन नै गरेर प्रचण्ड-नेपाल समूहले दियो ओलीलाई बहुमतबाटै हटाउने स्पष्ट सन्देश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बहुमतबाटै हल गर्ने निष्कर्षमा एउटा समूह पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चरम व्यक्तिवाद लादेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ओलीइत्तरका शक्तिहरू बहुमतबाट ओलीलाई हटाउने निष्कर्षमा पुगेका हुन् । पार्टीसम्बद्ध सञ्चारकर्मीसँग बुधबार अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरूले ओलीविरूद्ध आक्रमक रूपमा प्रस्तुत भए ।

प्रधानमन्त्री ओलीमा वैचारिक स्खलन मात्र नभई राजनीतिक भ्रष्टीकरण पनि हाबी भएको उपस्थित नेताहरूले बताए । अध्यादेश प्रकरण, विवादित नियुक्ति, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार लगायतका धेरै विवादास्पद कामहरू सरकारले गरेको भन्दै पार्टीलाई नै बद्नाम बनाउने काम सरकारबाट भएको उनीहरूले आरोप लगाए । अब नेकपाभित्रको विवादको छिनोफानो  बहुमतबाट नै हुने सन्देश एकसाथ शीर्ष चार नेताहरूले दिएका छन् ।



ओलीसँगको वार्ताले समयको मात्र बरबाद गर्ने तर कुनै निष्कर्ष ननिस्कने प्रचण्डको भनाई थियो । प्रचण्डले ओलीले पार्टीलाई पद प्राप्तिको भ-याङ बनाएको आरोपसमेत लगाए । ओलीकै व्याक्तिवादी सोचले नेकपाको भविष्य अन्धकारतर्फ लागेको भन्दै ओलीलाई धेरै झेल्न नसकिने बताए । प्रचण्डले पार्टी माक्र्सवाद लेनिनवादलाई आधार मानेर अघि बढ्ने कि बुर्जुवा मान्यतालाई लिएर अघि बढ्ने भन्ने द्वन्द्वमा पार्टी फँसेको बताए । ओलीले बुर्जुवा मान्यतालाई जोड दिएको भन्दै यसले नेकपामा राजनीतिक विचलन आउने प्रचण्डले बताए ।

पत्रकारसँग वरिष्ठ नेता खनालले स्थायी कमिटीलाई हुल्लडबाज र केन्द्रीय कमिटीलाई सडकछाप भनेको भन्दै ओलीको आलोचना गरे । खनालले हालै लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्ति गरेकोमा पनि आपत्ति जनाएका थिए । उनले ओलीलाई रूपान्तरण गर्न सकिन्छ कि भनेर आफूहरू लागेको तर त्यो सफल नभएकोले बहुममतकै आधारमा उनको छिनोफानो हुने बताए ।

अर्का वरिष्ठ नेता माधव नेपाल र प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले पनि बहुमतको कदर सबैले गर्नुपर्ने भन्दै ओलीले बैठकबाट भागेर सुख नपाउने बताए ।

ओली–प्रचण्डको हिजो साँझको वार्ता स्थगित
विवादकै कारण अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो साँझ हुने भनिएको बैठक स्थगित भएको छ । बालुवाटारमा साँझ ५ बजेका लागि तय गरिएको छलफल स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिएका थिए । उनले बैठक विहीबार बस्ने जानकारी समेत दिए ।

आइतबार, सोमबार र मंगलबारलगातार तीनदिन ओली–प्रचण्डबीच भएको छलफल स्थायी समितिको बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि विनानिष्कर्ष सकिएको थियो । स्थायी समिति बैठक साउन १३ गतेपछि बस्न सकेको छैन ।मंगलबारको बैठकमा दुई अध्यक्षबीचमा सरकार सञ्चालन र कार्यशैलीको विषयलाई लिएर चर्काचर्कीसमेत परेको थियो।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विवादास्पद व्यक्ति सुशील भट्टलाई नियुक्ति गरेको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले ओलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए । प्रचण्ड र खनालेले भट्टको नियुक्त खारेज गर्न आग्रह गरेपछि ओलीले उनीहरूसँग माफी नै मागेका थिए ।

सम्बन्धित समाचार