नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका ओलीइत्तरका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई बहुमतकै आधारमा पार्टी अध्यक्ष र सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग थप परामर्श गरेका छन् । प्रचण्ड नेपाल समूहले बहुमतको निर्णयअनुसार पार्टी अगाडि बढ्ने बताएलगत्तै बुधबारै साँझ ओली राष्ट्रपतिसँग भेटवार्ता गर्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए ।
बुधबारको लागि तय गरिएको ओली र अर्का अध्यक्ष प्रचण्डबीचको भेटघाट अन्तिम अवस्थामा आएर रोकिएको थियो । ओलीसँगको छलफल रोकेर प्रचण्ड आफूनिकट नेताहरुसँग आन्तरिक रणनीति बनाउन लागेपछि ओली पनि शितल निवास पुगेका हुन्।
शितल निवासबाट ओलीले आफूलाई सरकारबाट फिर्ता बोलाएमा चाल्ने कदमलाई थप सहयोगबारे स्पष्ट हुन चाहेको स्रोतको दाबी छ । प्रचण्ड-नेपाल समूहले पेलेरै अगाडि बढेमा संसद विघटन, मध्यावदी निर्वाचन घोषणादेखि पार्टी फुटाउनेसम्मका विकल्पमा ओली तयार रहेको स्रोतको दाबी छ ।