नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३६० जनामा संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने सक्रिय संक्रमितको संख्या थप ६ हजार २९६ रहेको छ। आज ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ। प्रवक्ता गौतमले कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको बताए। पछिल्लो २४ घण्टायता अहिलेसम्मकै धेरै ५ जनाको निधन भएको थियो ।