यी स्थानमा भैरहेछ भारी वर्षा, सतर्क रहन आग्रह

मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।

प्रदेश १ र २ का विभिन्न ११ जिल्लामा भने राति ३ बजेदेखि लगातार मध्यमस्तरको वर्षा भइरहेको विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार श्रावण २२ बिहान ६ बजे पछिल्लो ३ घण्टामा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी र आसपास हल्का देखि मध्यम वर्षा भइरहेको छ ।



त्यस्तै धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपास पनि मध्यम वर्षा भइरहेकाले ती क्षेत्र आसपास भइ बहने स-साना नदीमा पनि आकस्मिक बहाव हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउँन आह्वान गरेको छ ।

विभागका अनुसार आज दिउँसो पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक – दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार