नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
विश्वभर कोरोना संक्रमणबाट ७ लाख २४ हजारको निधन भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८३ हजार ९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ४१ हजार २१९ पुगेको हो । १ करोड २५ लाख ४४ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ६१३ जनाको मृत्यु भएको छ । ३० लाख ८ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ६ हजार १८९ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३२ हजार ७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख ९५ हजार ४९३ पुगेको छ । त्यसमध्ये ३२ लाख ३३६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ६ हजार ६९० जनाको मृत्यु भएको छ । ४८ लाख ६३ हजार २६६ जना संक्रमित भएकोमा ३६ लाख ६२ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५६ हजार ७४४ जनाको मृत्यु भएको छ । ४६ लाख २३ हजार ९८६ जना संक्रमित भएकोमा ३१ लाख ५३ हजार २३७ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २२ हजार ५५३ जनाको ज्यान गएको छ भने १० लाख २५ हजार ४६४ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ७ हजार ८७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३०४ जनाको मृत्यु भएको छ । २२ हजार ५७२ जना संक्रमित भएकोमा १२ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने २२ हजार २१४ जनामा संक्रमण देखिएकोमा ७० जनाको निधन भैसकेको छ । १५ हजार ८१४ जना भने उपचारपछि निको भएका छन् ।