नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रलाई सिल गरिएको छ । काठमाडौंका न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलगायत व्यापारिक केन्द्र सिल गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
पसल खुल्ला भएपछि सर्वसाधारणहरुको भीड लाग्ने र संक्रमण फैलने खतरा रहेकोले वडाले नै सूचना जारी गरेर सिल गरेको हो । केही व्यापारीहरुले अटेर गरेर पसल खोलेको भन्दै भोलिबाट सुरक्षाकर्मी परिचालन गरेरै सिल गरेका क्षेत्र ठप्प पारिने प्रशासन कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाको हाँडीगाउँ क्षेत्रको एउटै टोलमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजबाट सो क्षेत्र पनि सिल गरिएको छ । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढ्ने क्रम भने रोकिएको छैन ।