नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
नेपालमा कोरोना भाइरसको संक्रमणदर आक्रमक रुपमा बढिरहेको भए पनि सात जिल्ला भने कोरोनामुक्त भएका छन् । संक्रमितको शून्य संख्या भएका सात जिल्लामा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको जानकारी दिए। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा सात हजार ७८८ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए। हालसम्म जम्मा चार लाख ३५ हजार २८९ परीक्षण भएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७९२ छ। गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् भने हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन्।