आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भू-भागमा समान्यदेखि पूर्ण बदली भैरहेको छ । हाल प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशका केही स्थानमा बर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।



यस्तै आज राति देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार