रामको जन्मभूमि माडी नै हो, त्यहाँ भव्य राम मन्दिर बनाउनुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दै अयोध्याधाममा राम मन्दिर बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँगको भेटमा शनिबार प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताउँदै त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार साविकको अयोध्यापूरीका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले शनिबार साँझ भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले त्यहाँका जनप्रतिनिधिलाई राम मन्दिर बनाउने तयारी शुरु गर्न पनि अनुरोध गरेका छन् ।



माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन पनि उनले बताएका छन् । उनले रामनवमीमा भव्य मेलाको तयारी गर्न सुझाव दिएको माडी नगरपालिकाले गठन गरेको अयोध्या खोज, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले बताए ।

उनले भने, ‘आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्न तथा अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको छ ।’ उनले रामको जन्मभूमि नेपालमा पर्ने विषयलाई प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थाल्न पनि निर्देशन दिएका छन्।

सम्बन्धित समाचार