ओलीलाई प्रचण्डको नयाँ प्रस्ताव : दुबै अध्यक्षले राजीनामा दिउँ न त !

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइसोलेसनमा बसेसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता अनिश्चित बनेको छ । दुई अध्यक्षबीचको वार्ता अनिश्चित भएपछि नेकपाको जारी विवादले तत्काल समाधान पाउने देखिएको छैन । आफ्नै सुरक्षा घेरामा रहेका प्रहरीमा कोरोना देखिएपछि प्रचण्ड एक साताका लागि आइसोलेसनमा बसेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

आफ्ना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि प्रचण्डले भेटघाटका कार्यक्रमलाई बन्द गरेका छन् । अत्यावश्यक भेटघाट भने आफ्नै निवासमा दुरी कायम गरेर गरिरहेका छन् । शुक्रबार राखिएको सम्पादकहरूसँगको बैठक अन्तिम अवस्थामा आएर प्रचण्डले स्थगित गरेका थिए । तर सोही दिन ओलीको सन्देश बोकेर खुमलटार पुगेका नेता सुवास नेम्वाङ र शंकर पोखरेलसँग भने वार्ता गरेका थिए । भेटमा नेताद्वयले प्रचण्डलाई सहमतिको प्रयास कायमै राख्न र ओलीसँग वार्तामा बस्न आग्रह गरेका थिए ।



प्रचण्डले हिजो पनि महासचिव विष्णु पौडेलसँग भेटघाट गरेका थिए । मंगलबारयता ओली र प्रचण्डबीच वार्ता हुन नसक्दा पार्टी फुटको दिशामा अगाडि बढेको भन्दै पौडेलले प्रचण्डलाई विवाद मिलाउन लागिपर्न आग्रह गरेका थिए । प्रचण्डले भने ओलीसँग वार्तामा बसेर कुनै निकास ननिस्कने कुरा दोहोर्याएका थिए । ‘ओलीजी आफ्नो अडान छोड्नुहुन्न । बहुमतले जे सक्नुहुन्छ गर्नुहोस् भन्नुहन्छ । वहाँलाई पार्टी फुट्ला भन्ने चिन्ता नै छैन । हामीले मात्र पार्टी फुट्न दिन्नौं भनेर कहाँ हुँदो रहेछ र’ प्रचण्डले निराश हुँदै पौडेललाई बताएका थिए ।

प्रचण्डले ओलीलाई वार्तामा बस्नुअगाडि कुनकुन विषयमा लचिलो हुन सक्ने हो, सो विषयको खाका खुमलटार पठाउन आग्रह गरेका छन् । वार्तामा बसेर ओलीको २÷४ टुक्का सुनेर पार्टी एकता कायम नरहने भन्दै प्रचण्डले साँच्चै पार्टीको माया छ भने विवाद समाधानको लागि सबै शीर्ष नेतृत्वले त्याग गर्न सक्नुपर्ने बताएका थिए । साथै प्रचण्डले ओलीलाई अध्यक्षबाट राजीनामा दिन सहज हुन्छ भने आफू पनि अध्यक्षबाट राजीनामा दिन तयार रहेको सन्देश पनि बालुवाटारमा पठाएको स्रोतको दाबी छ ।

महाधिवेशनको मिति तोकेर महाधिवेशन आयोजक कमिटी बनाई अध्यक्षको जिम्मेवार महाधिवेशनसम्मको लागि २ अध्यक्षबाहेक तेस्रो व्याक्तिलाई दिन सकिने नयाँ प्रस्ताव प्रचण्डले महासचिव पौडेलमार्फत ओलीलाई पठाएका छन् । पौडेलले भने यस विषयमा अध्ययन गरेर निष्कर्षमा पुग्न सकिने बताएका थिए ।

यता प्रचण्डलाई भेटेपछि बालुवाटार पुगेका पौडेललाई ओलीले ‘प्रचण्डलाई कोरोना लाग्यो कि के हो ? नाकमुखै देखाउन छोडे त !’ भनेर प्रश्न गरेको बालुवाटार स्रोतले बतायो । पौडेलले प्रचण्डको रिपोर्ट नेगेटिभ आए पनि केही दिन आइसोलेशनमा बस्ने निर्णय गरेको सुनाएका थिए । ओलीले भने वार्ताबाट पन्छिन आइसोलेशनको बहाना बनाएको हुनसक्ने आशंका गरेका थिए । आइसोलेशनमा बस्ने भन्दै विभिन्न षडयन्त्रको तानाबाना बुन्ने काम खुमलटारबाट भैरहेको बालुवाटारको आशंका छ ।

दुबै अध्यक्षले राजीनामा दिने प्रचण्डको प्रस्तावलाई ओलीले हाँसोमा उडाएको र कुनै प्रतिक्रिया नदिएको बालुवाटार स्रोतको दाबी छ ।

सम्बन्धित समाचार